द हिमाल वर्ल्ड
सिलगढ़ी, 2 फरवरी 2025
भारतको हिमाली राज्य सिक्किममा रहेको एक प्राकृतिक सौन्दर्यताले परिपूर्ण खेचीबेरी ताललाई आधिकारिक रूपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छ। पश्चिम सिक्किमको गेजिङ जिल्ला एवम् योकसम-टासिडिङ निर्वाचन क्षेत्रमा अवस्थित अवस्थित यो लेक अथवा ताललाई राज्यको पहिलो सिमसार भूमिको रूपमा नामित गरिएको छ, जो विश्वव्यापी सिमसार संरक्षणमा एक महत्वपूर्ण मान्यता हो।
विश्व सिमसार दिवसको पूर्वसन्ध्यामा वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले यो घोषणा गरेको हो, जसले यसको अद्वितीय पारिस्थितिक सम्पदाको संरक्षण गर्ने सिक्किमको प्रतिबद्धतालाई दर्शाउँदछ।
यस तालको स्वच्छ पानी, समृद्ध जैविक विविधता र आध्यात्मिक महत्त्वका लागि परिचित खेचोएपार्ली ताललाई सिक्किमका मानिसहरूले लामो समयदेखि सम्मान गर्दै आएका छन्।
खेचीबेरी लेकलाई यो प्रतिष्ठित मान्यता प्राप्त हुनुलाई सिक्किमका मुख्यमन्त्री पीएस गोलेले राज्यका लागि उल्लेखनीय उपलब्धि ठानेका छन्। यसले गर्दा सिमसार संरक्षण मार्फत् जलवायु परिवर्तन न्यूनीकरणमा सिक्किमका प्रयासहरूलाई विश्वव्यापी ध्यान र समर्थन पुगेको तिनले बताएका छन्।
खेचीबेरी लेकलाई समसार क्षेत्रमा समावेश गरिएपछि, भारतको कुल रामसार स्थलहरूको संख्या अब ८९ पुगेको छ, जसले यसको बहुमूल्य सिमसार पारिस्थितिक प्रणालीको संरक्षण र व्यवस्थापनप्रति देशको समर्पणलाई प्रतिबिम्बित गर्ने बताइएको छ।
उल्लेखनीय छ, पूर्वी हिमालय राज्य सिक्किमको स्वच्छ परिदृश्यभित्र १,७०० मिटर उचाइमा अवस्थित खेचीबेरी सिमसार एक महत्त्वपूर्ण पारिस्थितिक हटस्पट हो। यो विविध वनस्पति र जीवजन्तुहरूको घर पनि हो, जसले प्रवासी चराहरू, उभयचरहरू र जलचरहरूलाई संरक्षण गर्दछ। पारिस्थितिक सन्तुलन कायम राख्न, पानीको प्रवाहलाई नियमन गर्न, भूजल रिचार्ज गर्न र माटोको क्षय कम गर्न मद्दत गर्ने प्राकृतिक जलाशयको रूपमा काम गर्न सिमसार क्षेत्रले प्रमुख भूमिका खेल्दछ।
रामसार पदनामले खेचीबेरी ताललाई विश्वव्यापी रूपमा समर्थन प्राप्त हुनु नै यसमाथि विश्वको ध्यान जानु रहेको जनाउँदै यसको संरक्षणका लागि गरिएका प्रयासलाई अझ बलियो टेवा पुग्ने मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमार्फत् बताएका छन्।
यस्ता क्षेत्रहरू सिक्किम राज्यमा चिन्हित हुनुले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न यस्ता सिमसार क्षेत्रहरूले खेल्ने महत्त्वपूर्ण भूमिकालाई पनि उजागर गर्न अन्तर्राष्ट्रिय प्लेटफर्मका लागि मार्ग प्रशस्त गरेको तिनको भनाइ छ।
यो उपलब्धि सिक्किमका लागि गर्वको क्षण हो भन्दै मुख्यमन्त्री गोलेले हाम्रो काम भर्खरै शुरू भएको छ र यो कोसेढुङ्गा अन्त्य होइन बरू हामी सबैका लागि खेचीबेरी तालको भविष्यको सुरक्षामा एकताबद्ध हुने अवसर हो भनी बताएका छन्।
खेचीबेरी लेकले सिक्किमको सांस्कृतिक र आध्यात्मिक संरचनामा बेग्लै महत्त्व बोकेको छ। बौद्ध अनि हिन्दू दुवै धर्मावलम्बीहरूले यसलाई पवित्र तालको रूपमा यसलाई लिँदै आएका छन्। यसलाई प्रायःजसोले "इच्छा पूरा गर्ने ताल" पनि भन्ने गर्छन्। स्थानीय किंवदन्तीहरू अनुसार, चराहरूले यसको सतहमा एउटा पात पनि तैरनबाट रोकेकाले यो ताल अझै पनि पवित्र छ। यो सिक्किमको पवित्र भूगोलमा यसले प्रतिनिधित्व गरिएको मानिन्छ। युक्सोम (तेस्रो आँखा), टासिडिङ (टाउको) र पेमायाङ्त्से (हृदय) सँगसँगै मानव शरीरका पवित्र भागहरूमध्ये यसलाई पनि एउटा पवित्र भाग रहेको विश्वास गरिएको छ।
इरानको रामसारमा सन् १९७१ -मा स्थापित रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रहरूको संरक्षण र तिनीहरूको दिगो प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
Leave a Comment